राजनीति

मन्त्री अर्यालद्वारा ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउन कर्मचारीलाई निर्देशन



पोखरा, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

आज पोखरामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आयोजना गरेको ‘आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन् ।

कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन् । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताउनुभयो । तर गलत काममा भने साथ नदिने बताइन् ।

काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन मन्त्री अर्यालले आग्रह गरिन् । काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिदै मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् १ इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’