काठमाडौँ, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचार र व्यभिचारमा लिप्त भएको भनि सरकारमाथि लगाएको आरोपमा कुनै दम नै नभएको बताउनुभएको छ ।
कांग्रेसले सरकारको आलोचना गर्ने ठाउँ नै नपाएपछि सरकारको आलोचना गरेको बताउनुभयो । उहाँले प्रतिपक्षी दल कांग्रेस एजेण्डा विहिन भएकाले सरकारलाई अनावश्यक आरोप लगाई समय व्यतित गरेको समेत उल्लेख गर्नुभयो ।
काँग्रेसले सरकार माथि लगाएको आरोपको प्रतिवाद गर्दै उहाँले अगाडि भन्नुभयो, ‘प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो भ्रष्टाचार र व्यभिचारमा लिप्त भएको छैन् । कांग्रेसको यो आरोपमा कुनै सत्यता छैन् । राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ । प्रतिपक्षी दलले सरकारको व्यापक विरोध र गरेको आलोचनामा धेरै सत्यता छैन् ।’
उहाँले नेपालको इतिहासमा सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस भएकोले उसले अहिलेको सरकारमाथि लगाएको आरोपमा कुनै दम नभएको बताउँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको धेरै सरकार बनेका छन्, यदि उसले भनेकोजस्तो भए त देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने थियो । बरु, अहिले नेकपाको सरकार आउँदा धेरै राम्रो भएको छ । सामाजिक सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । जनतालाई राहत दिनेगरि अघि बढिरहेको छ ।’
रायमाझीले सरकारले सीमा विवादको लागि पहलकदमी अघि बढाउने र कुटनीतिज्ञहरु पनि परिचालन गर्ने जानकारी उहाँले भन्नुभयो, ‘सरकारले छिटोभन्दा छिटो यसको लागि पहल गर्छ । नेपालको एक ईन्चपनि भूमि छोड्दैन् । कसैको पनि एक ईन्च पनि भूमि लिँदैन् ।’










प्रतिक्रिया दिनुहोस्