राजनीति

मन्त्री नेम्वाङले भने –समयमै काम नसक्ने ठेकेदारलाई कारवाही हुन्छ



बुटवल, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न गर्न नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन ।

आज रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको बताए ।

यही डिसेम्बरको अन्तिमसम्ममा भैरहवाबाट लुम्बिनी पुग्ने सडक एकतर्फी भएपनि कालोपत्रे गर्न निर्देशन दिदै उनले भने भ्रमण वर्षको शुरुआतीसँगै लुम्बिनी आवतजावत गर्न पर्यटकलाई कुनै पनि किसिमले समस्या हुनु हुँदैन ।