समाचार

निर्मला प्रकरण : अनुसन्धानको सुई फेरि दीलिपतिरै



काठमाडौँ, २३ मंसिर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो ।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए । गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो । प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो । तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ ।

एसएसपी रामदत्त जोशी लामो समयदेखि त्यही कामका लागि सुदूरपश्चिममा खटिएका छन्। स्रोतका अनुसार आशंकित व्यक्ति पक्राउ गर्न यथेष्ट प्रमाण जुटाउनुपर्ने भएकाले पनि प्रहरी केही दिन पछि हटेको हो । प्रहरी महानिरीक्षक खनालले हत्यासँग सम्बन्धित प्रमाण बलियो बनाउन सिआइबीलाई निर्देशन दिइसकेका छन् । एसएसपी जोशी अहिले धनगढीमा छन् भने सिआइबीका निलम्बित डिएसपी अंगुर जिसीको मुद्दा कञ्चनपुरमै भएकाले उनी आउजाउ गरिरहेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।