राजनीति

नेपालमा रहेका विदेशी अपराधीलाई उन्मुक्ति दिन राष्ट्रसंघीय दबाब



काठमाडौँ, २३ मंसिर । लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ । राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त (यूएनएचसीआर)को नेपाल कार्यालयका अधिकारीले ती सोमालियाली आफूलाई बुझाउन अध्यागमन विभागमा दबाब दिएको उच्च स्रोत बताउँछ । यसका लागि उनीहरूले गृह मन्त्रालयसम्म लबिङ गरेका छन् ।

विभागले भने सोमालियाका नागरिक आवादी फाहाद युसुफ, इब्राहान अलिहाजी र जामा अब्दिफाथा अहमेदलाई निष्काशनको तयारी गरेको छ । मन्त्रालयले पनि लागुऔषध सेवनजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई बुझाउन नसकिने जवाफ यूएनएचसीआरलाई दिएको छ ।

यूएनएचसीआरले तीनै जनालाई शरणार्थीको हैसियत दिएर संरक्षण गर्दै आएको थियो । उसकै संरक्षणमा रहेका बेला उनीहरूले लागुऔषध सेवन गरेका थिए । सोही प्रकरणमा प्रहरीले उनीहरूलाई २०७४ सालमा पक्राउ गरेको थियो । उनीहरूले दुई वर्ष जेल सजाय भुक्तान गरेका छन् । अदालतले उनीहरूलाई २०७४ असोज २८ देखि २०७६ भदौ २७ सम्म जेल सजाय तोकेको थियो । जेल सजाय भुक्तान गरेका उनीहरूलाई कारागार व्यवस्थापन विभागले थप कारबाहीका लागि गत भदौमा अध्यागमनमा बुझाएको थियो ।

यूएनएचसीआरले आफूलाई बुझाउन लबिङ गरे पनि गृह र अध्यागमनका अधिकारीले प्रस्ताव अस्वीकार गरेको स्रोत बताउँछ । विभागले उनीहरूलाई निष्काशन गर्न सोमालियासम्मको हवाई टिकट पेस गर्न भनेको थियो । तर, उनीहरूले सोमालिया जान अस्वीकार गर्दै टिकट पेस गरेनन् । विभागले उनीहरूलाई पुनः कारागार चलान गरेको छ । यो खबर आजको अन्नपूर्ण पाेस्टमा