काठमाडौँ, २७ मंसिर । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो ।
बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो । साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ । साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ ।
पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन् । जसमा नेपालीसमेत छन् । कामदारहरू कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि पुरानो रोजगारदातासँग काम गर्न इच्छुक नदेखिएका हुन् । ‘म भिसा रद्द नगरी आएको थिएँ । राम्रो तलब मिल्ने काम पाए अन्तै जाने योजना बनाएको छु,’ साउदीमा तीन वर्ष काम गरी फर्केका रूपन्देहीका उज्ज्वल मगरले भने, ‘अहिले पनि भिसाको अवधि बाँकी छ । तर जाने योजना बनाइसकेको छैन ।’
उनका अनुसार साउदीमा पहिलाजस्तो भागेर अन्य रोजगारदातासँग काम गर्नसमेत कठिन छ । ‘पहिला भागेका कामदारलाई रोजगारदाताले पनि सहजै लिन्थ्यो । पैसा पनि कमाइ हुन्थ्यो । अहिले त भागेका कामदारलाई ५० हजार रियाल जरिवाना र ६ महिना जेल बस्नुपर्ने नियम छ,’ झापाका उमेश रिजालले भने, ‘भिसाको म्याद छ । फेरि जाउँ कि नजाउँ भएको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्