धनुषा, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परि दुई जनाको मृत्यु भएको छ भने इनिस्पेक्टर सहित चार जना घाइते भएका छन् ।
विस्फेटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।
राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।
बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्