समाचार

लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, १ पौष । सुनसरीको धरानबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पालाई पक्राऊ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबी ७४ एएफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । कारको चालक समेत रहेका दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।