समाचार

स्कुल जानुपर्ने बालकहरू मजदूरी गर्न कालापहाड



काठमाडौँ, १ पौष । कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगन्ज नाका हुँदै भारत जान लागेका थिए । जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै आएका छन् । स्कुलमा दुई महिना जाडो बिदा भएको मौकामा ‘पैसा कमाउन’ भारत जान लागेको उनले बताए ।

उनका बुवा बलवीर, आमा झिमु, जेठो दाइ नन्दराज र माइलो दलसिंह भारतको उत्तर प्रदेशस्थित अजमगढमा छन् । उनीहरू त्यहाँका ग्रामीण बस्तीमा डुलेर जाडोका कपडा बेचेर आय आर्जन गर्छन् । ‘बाआमासँगै म पनि लुगा बेच्दै हिँड्छु’, करणले भने ।

करणसँगै १९ बालकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले राति ९ बजेतिर नाकामा रोकेको थियो । एसएसबीले उनीहरूलाई नेपाल प्रहरीमा बुझाएको थियो । प्रहरीले सिविन नेपालगन्जको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा कम उमेरका छन्, नौ वर्षका दलसिंह सार्की। उनी कक्षा १ मा पढ्छन् । बुवा सर्णे सार्कीलाई भेट्न र उपचार गर्न जान लागेको उनले बताए ।

अधिकांशले जाडो छल्न र भारतमा रहेका अभिभावक भेट्न जान लागेको बताएका छन् । उनीहरू सबै नराकोटकै हुन् । उनीहरूलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुइटा अटो रिक्सा चढाएर भारत लैजाँदै गर्दा जमुनाहा नाकाबाट उद्धार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरूले बताए । यी बालक ९ वर्षदेखि १७ वर्ष उमेरका छन् । सबैभन्दा बढी १६ वर्षका सात जना छन् । १७ वर्षका ६, १४ वर्षका २ र १३, १२, ११ र ९ वर्षका १/१ जना छन् । दलित परिवारका बालक गावैं रित्ताएर कमाउन जान लागेका हुन् । गाउँमा बाहुन-क्षेत्री बालक मात्र छन् । यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।