काठमाडौँ, २ पौष । विवादका कारण जग्गाधनी प्रमाणपुर्जा रोकिएको अछामको मेल्लेख–३ ठाँटीवासीले झन्डै ३० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन् । मन्त्रिपरिषद्बाट जग्गा दर्ता गठन समितिको गठन आदेश कार्यान्वयन गरेसँगै साविकको ठाँटी गाविसमा रहेका ५२५ घरधुरीले तीन दशकपछि आफ्नो जमिनको जग्गाधनी प्रमाणपुर्जा पाउने भएका हुन् ।
अछाम जिल्लाका लागि मात्र जग्गा नापजाँच भई दर्ता हुन नसकेका जग्गा दर्तासम्बन्धी समिति गठन आदेश–२०७६ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आफैँले कमाएर खाइरहेको जग्गा हालसम्म आफ्नो नाममा नरहेपछि ठाँटीवासी केन्द्रदेखि जिल्लाका सरकारी र राजनीतिक शक्तिकेन्द्रमा लामो समयसम्म धाइरहेका थिए ।
मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा समिति सदस्य लोकबहादुर बोहराले निवेदन सङ्कलनपछि वन, सरकारी, गुठी र निजी जग्गा छुट्याएर सम्बन्धित पक्षलाई प्रमाणपुर्जा दिने तयारी भइरहेको बताउनुभयो । ३५ दिने सार्वजनिक सूचनापछि समिति गठन आदेशअनुसार निर्देशित काम अघि बढ्ने समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्