काठमाडौँ, २ पौष । कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरूले बताए ।
सहमति निर्माणका लागि संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहँु बसे पनि टुंगोमा पुग्न सकेको छैन । मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरूले गरेका छन् । बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरूको छ । ‘चारवटै विषयमा छलफल भएको छ । छलफल सकारात्मक छ,’ पौडेल समूहबाट कार्यदल सदस्य हृदयराम थानीले भने, ‘कुरा बिग्रेन भने बुधबारसम्म सहमतिमा पुगिन्छ ।’
कार्यदलबीच नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा करिब डेढ घण्टा छलफल चलेको थियो । महाधिवेशन कार्यतालिकाबारे दुवै पक्षबीच विवाद छैन । संस्थापन समूह अर्काे वर्ष फागुनसम्म महाधिवेशन गर्ने अडानमा छ भने पौडेल समूहले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
यसअघि संस्थापन समूहले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिएपछि मात्र महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने अडान राख्दै आएको थियो । असन्तुष्ट समूहले महाधिवेशन कार्यतालिका नल्याए केन्द्रीय समिति बैठकमा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा पौडेल समूह अनुपस्थित हुँदै आएको छ । सोमबारको बैठकमा पनि पौडेल समूह नआएपछि सभापति देउवाले सहमतिका लागि भन्दै दुई दिन बैठक स्थगित गरेका थिए ।
‘आन्तरिक विवाद सहमतिपूर्वक टुंगिने वातावरण निर्माण भएको छ । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सानेपामै थप छलफल गर्ने समझदारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । सबै विषयमा आज टुंगो लाग्छ ।’
महाधिवेशन कार्यतालिकामा सहमति नजिक भए पनि तरुण दल र नेविसंघ गठनमा भने दुवै समूह आआफ्नै अडानमा छ । संस्थापन समूह नेविसंघमा चार महामन्त्रीसहित विधानअनुसार केन्द्रीय समिति गठन गर्नुपर्ने पक्षमा छ भने पौडेल समूहले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षसहितको पूरा कमिटी ल्याउनुपर्नेमा जोड दिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।










प्रतिक्रिया दिनुहोस्