काठमाडौँ, ४ पौष । नौं वर्षअघि भएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोप लागेका गौतम योञ्जन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ । उनलाई जिल्ला अदालत, चितवनले २३ जेठ २०६९ सालमा सफाइ दिएको थियो । तर, उच्च अदालत, पाटनको हेटौंडा इजलासले दोषी ठहर गरेको थियो । अहिले त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
४ जेठ २०६७ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले डा. श्रेष्ठको अपहरण गरेको थियो । बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुर नजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि उनी छाडिएका थिए ।
प्रकरणका मुख्य अभियुक्त मानिएका पण्डित भने अझै फरार छन् । प्रहरीका विभिन्न निकायले मुख्य आरोपित पण्डितको खोजी जारी राखे पनि अहिलेसम्म पक्राउ परेका छैनन् । पालिवाल पक्राउ पर्दा उनी पनि भारतमै रहेको बताइन्थ्यो ।










प्रतिक्रिया दिनुहोस्