काठमाडौँ, ४ पौष । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मंसिर २५ गते आह्वान गर्नुभएको थियो । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।
पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ । यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन् ।
प्रवक्ता पाण्डेका अनुसार अघिल्लो अधिवेशनमा पारित हुन बाँकी आठ विधेयक अहिले प्रारम्भिक अध्ययनका लागि सांसद्लाई दिइसकिएको छ । हाल विभिन्न संसदीय समितिमा १५ विधेयक विचाराधीन छन् भने केही नयाँ विधेयक दर्ता भएका छन् ।
यो अधिवेशनमा बहुप्रतिक्षित नागरिकता विधेयक, सङ्घीय निजामति कर्मचारी विधेयक, राहदानी विधेयक, भूमिसम्बन्धी एकीकृत विधेयक जस्ता कानून पारित हुने अपेक्षा गरिएको थियो । साथै अमेरिकी सहयोगको ‘एमसिसी’ सम्झौता अनुमोदनको प्रस्ताव पनि यही अधिवेशनमा प्रस्तुत हुनेछ ।
सङ्घीय संसद्को चौथो अधिवेशन २०७६ वैशाख १६ गते प्रारम्भ भई २०७६ असोज २ गते सम्पन्न भएको थियो । सो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्