समाचार

दुर्घटनाको डरलाग्दो तथ्य : बारम्बारको दुर्घटना, ‘शवको बिस्कुन’



काठमाडौँ, ५ पौष । ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्र्नेहरूको सङ्ख्या दोब्बर छ ।

२०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्यु भएको दाबी गरिएको छ । सवारी दुर्घटनामा भने पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त सवारी दुर्घटनासम्बन्धी आर्थिक वर्ष २०७०/२०७१ देखि आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्कबाट सो कुरा स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटनामा परी दुई हजार एकसय ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७०/०७१ मा १६ हजार सात सय दुर्घटना हुँदा एक हजार सातसय ८७ जनाको मृत्यु भएको थियो भने नौ हजार चारसय ६० जना गम्भीर र तीन हजार दुई सयजना सामान्य घाइते भएका छन् ।

पाँच वर्षको अवधिमा साना–ठूला गरी ८४ हजार छसय ३६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी करीब १२ हजार तीनसय ७८ ले ज्यान गुमाएको तथ्याङ्कबाट स्पष्ट हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।