समाचार

‘लेनदेन’ निहुँमा बालबालिका अपहरण



काठमाडौँ, ५ पौष । सामाखुसी बस्ने सीता (नाम परिवर्तन) दुई छोरी र एक छोरालाई कोठामा छाडेर ससुराको श्राद्ध गर्न शनिबार पोखरा हिँडिन् । आइतबार, सोमबार र मंगलबार बिहानसम्म छोराछोरीसँग उनको फोनमा राम्रै कुराकानी भयो। तर चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन् । हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं ।’

सीतालाई फोन गर्ने व्यक्ति वानेश्वरका २४ वर्षीय आशिष सिँजापति थिए। उनी समयसमयमा सीताको कोठामा आउँथे, सीतालाई दिदी भन्थे, छोराछोरीलाई भान्जाभान्जी । आफूले चिनेको व्यक्तिले फोन गरेर त्यसो भन्दा सीतालाई ठट्टाजस्तै लाग्यो, साँचो होला भन्ने कल्पनासमेत भएन ।

बुधबार उनी पोखराबाट सामाखुसी फर्किन् । कोठामा पुग्दा छोराछोरी देखिएनन् । कोठाको ढोकामा चुकुलमात्रै लगाइएको थियो । आफू नभएको बेला छोराछोरीसँग कुराकानी गर्न उनले एउटा मोबाइल छाडेर गएकी थिइन् । कोठामा कोही नदेखेपछि उनले फोन गरिन् । मोबाइल अफ थियो । फेसबुक खोलिन्, छोरीको आइडीबाट ‘मामाले नचिनेको ठाउँमा ल्याएर राख्नुभएको छ’ भन्ने म्यासेज आएको रहेछ । त्यसपछि उनलाई छटपटी भयो, अत्तालिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलाई फोन गरिन् र छोराछोरी हराएको जानकारी गराइन् ।

जानकारी पाएलगत्तै परिसरबाट टोली परिचालन भयो । गोंगबु, सामाखुसी र टोखाका होटलमा प्रहरीले खानतलासी थाल्यो । टोखा क्षेत्रमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली पुग्यो । सूचनाका आधारमा प्रहरीले त्यस क्षेत्रका होटलमा खोज्न थाल्यो । त्यसै क्रममा ब्लु स्टार होटलको कोठा नं। ४०४ मा तीन बालबालिका भेटिए। प्रहरीले उनीहरुलाई उद्धार गर्‍यो । सँगसँगै प्रहरीले होटलबाट चारजनालाई नियन्त्रणमा लियो । तीमध्ये बालबालिकाको कुरुवाका रुपमा रहेका गोरखाका २८ वर्षीय विनोद थापा मगर पनि थिए । प्रहरीले उनीसँग सोधपुछ गर्‍यो । घटनाको खास नाइके आशिष सिँजापति भएको उनले प्रहरीलाई बताए । सिँजापति हेटौंडा गएको सूचना पनि उनले दिए । प्रहरीले तत्कालै हेटौंडा प्रहरीसँग सम्पर्क राख्यो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।