समाचार

करियरमा ‘दोस्रो अटोमेशन एण्ड रोबोटिक्स प्रर्दशनी’ सम्पन्न



काठमाडौँ, ६ पौष । पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीले आफुले अटोमेशन र रोबोटिक्स कक्षामा सिकेका विषयलाई व्यवहारिक रुपमै प्रयोगात्मक सामग्री बनाई प्रर्दशनी मार्फत अभिभावकहरुलाई देखाएका छन् ।

विद्यालयको कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले बनाएका विज्ञानसम्वन्धी आविश्कार र नयाँ सामग्रीहरु अभिभावकहरुले चासोपुर्वक हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए ।

 

कक्षा ९ का विद्यार्थीले बनाएको अटोमेटिक पानी तान्ने पम्पदेखि घरको सुरक्षामा अपनाइने सेक्युरिटी सिस्टम र अरु कक्षाका विद्यार्थीले बनाएको लाइन टेस्टर, एज डिकेक्टर, ब्लुटुथ कन्ट्रोल रोबोट र ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइटको समेत प्रर्दशनीमा राखिएको थियो ।

हरेकवर्ष आयोजना गरिने यसप्रकारको अटोमेशन एण्ड रोबोटिक्स प्रदर्शनमा विद्यार्थीहरुले आफुले कक्षामा सिकेका कुरा प्रयोगात्मक रुपमै आफैंले एकल या साथीहरुसंग समूहगत रुपमा बनाएर प्रदर्शन गर्ने विद्यालयका प्रिन्सिपल हेम राई बताउँछन । ‘उनीहरुले बनाएका सामग्री प्रत्यक्ष हेरेर अभिभावक र दर्शकबाट पाउने प्रतिक्रिया उनीहरुका लागि हौसला बन्ने गरेको छ’—प्रिन्सिपल राई भन्छन ।

 

विद्यालयको अटोमेशन एण्ड रोबोटिक्स र लेगो रोबोटिक्स विभागको आयोजनामा सो प्रदर्शनी आयोजना गरिएको हो । सो विभागले विद्यालयको ५ देखि ९ सम्मका सबै विद्यार्थीहरुलाई हप्तामा दुईदिन अटोमेशन, रोबोटिक्स र लेगो रोबोटिक्सका वारेमा कक्षा सञ्चालन गर्दै आएको छ । ती दुवै विभागको संयोजक उमेश श्रेष्ठ छन ।

विज्ञान र प्रविधिप्रति विद्यार्थीको आकर्षण बढाउनका साथै रोबोटिक्स र अटोमेशन कक्षामा सिकेका कुराबाट आफैंले केही नयाँ प्रविधि बनाउन सकुन भनेर यस्ता प्रदर्शनीले मद्धत पुर्याउने विद्यालयको शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठ बताउँछन । प्रदर्शनीमा अभिभावक र अन्य गरी ६ सयभन्दा बढीले अवलोकन गरेको विद्यालयले जनाएको छ ।