समाचार

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ



भक्तपुर, ७ पौष । भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

आइतबार बिहान चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सिन्धुली घर भई हाल भक्तपुर व्यासी बस्ने नविन कुमार खत्रीलाई पक्राऊ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त स्थानमा सल्लाघारीबाट दुवाकोटतर्फ जाँदै गरेको बा ३ च ६४२६ नम्बरको कार जाँच गर्ने क्रममा खत्रीले आवश्यक कागजात नभएका कारण प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।