काठमाडौँ, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी भएका प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहितको समानता, विकास र सुशासन संकल्प रहेको बताएका हुन ।
उनले भने, ‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी बिकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो । ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
सम्झौतामा शिक्षालाई समुदायमा पु-याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित रहेका थिए ।
ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।










प्रतिक्रिया दिनुहोस्