राजनीति

हडतालबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराउँछौं : मन्त्री भट्टराई



काठमाडौँ, १५ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन ।

आज नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

मन्त्री भट्टराईले आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् । उनले भने ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’, ‘स्थापना दिवसकै दिन केको बन्द हड्ताल ? यदि कसैले सार्वजनिक सम्पत्तिमा क्षति गर्छ भने त्यसमा संलग्नबाटै क्षतिपूर्ति तिराइनेछ ।’

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन दिदै भने, ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको छ । यो विकासको कुरा गर्ने समय हो ।’