राजनीति

राजपा नेताको साहुकार आतंक : उजुरी लेखिदिने वकिलसमेत पाएनन्



काठमाडौँ, २६ पौष । राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन् । यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन् बहाना बनाएर पन्छिरहेका छन् ।

‘हामीले जिल्लाका धेरै वकिलसँग सम्पर्क र्गयौँ । कसैले व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ । कोही भने बुढो भइयो, सल्लाह सुझाबसम्म दिन सकिन्छ, लेख्न त गाह्रो हुन्छ भन्नुहुन्छ,’ सर्लाहीका पीडित रवीन्द्र कुशवाहले भने, ‘जाहेरी लेखाउने वकिल नपाउँदा प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन् ।

लाख ऋण दिएर करोडको कपाली तमसुक बनाउँदै ऋणीको जग्गा आफ्नो नाममा गराउने यादव र रौनियार विरुद्ध जाहेरी दिन शुक्रबार दुई सय १० पीडित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । रामबाबुपीडित एक सय ५० र सञ्जयपीडित ६० जना थिए । अर्का पीडित रामबहादुर घिसिङले पनि जाहेरी लेखिदिने वकिल नपाउँदा उजुरी दर्ता गर्न नपाएको बताए । ‘साहुकारविरुद्ध जाहेरी लेखिदिनुर्पयो भन्दा कतिपय वकिलले कानुनी व्यवसाय नै छाडिसकेको जवाफ दिनुहुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनबाट सहयोग भए पनि वकिल नपाउँदा समस्यामा परेका छौँ ।’ बिहीबार प्रहरीले वकिलबाट जाहेरी लेखाई प्रक्रिया र्पुयाएर आउन पीडितहरूलाई भनेको थियो । जाहेरीमा वकिलको नाम र दर्ता नम्बरसमेत उल्लेख गर्नुपर्छ । नाम र दर्ता नम्बर सार्वजनिक हुँदा साहुकारको निशानामा पर्ने डरले वकिलहरू हच्किएका हुन् । यो समाचार नयाँ पत्रिकामा छ ।