काठमाडौँ, २६ पौष । यती समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गामा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जग्गा भाडामा दिँदा ट्रस्टले यतीको भगिनी कम्पनी थामसेर्कुसँग गरेकोसम्झौता त्रुटिपूर्ण रहेको भन्दै भवन निर्माणको काम तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अदालतले सम्झौता यथास्थितिमा राख्न र भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको बताए । अदालतले यस विषयमा छलफल गर्न दुवै पक्षलाई माघ १ गतेका लागि बोलाउँदै त्यतिन्जेलसम्मका लागि काम रोक्न थामसेर्कुलाई आदेश दिएको हो । ‘माघ १ गतेको छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा अदालतले विचार गर्छ तर हाललाई दरबारमार्गको जग्गामा बन्दै गरेको भवनको काम रोक्न भनिएको छ’, रजिस्ट्रार दाहालले भने । यो खबर आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्