काठमाडौँ, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् ।
आज काठमाडौँमा राष्ट्रिय योग मूल समारोह समितिले आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्तिको मूल समारोह कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताएका हुन ।
उनले उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । उनले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए । कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए ।
उक्त समारोहको सक्रियतामा बिहान प्रभातफेरी गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयबाट सुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्