राजनीति

मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता



बुटवल, १ माघ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनका राजदूत होउ यान्कीबीच भेटवार्ता भएको छ  ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्कीले माघी पर्वको शुभकामना दिँदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाइ दिएकी छन् ।

मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोचमा आफू रहेको प्रष्ट पार्दै उनले त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए ।

उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव उपयोगी हुने बताए ।