Banner News

मुलुकको सम्बृद्धि अब टाढा छैन : मन्त्री बस्नेत



भक्तपुर, ११ माघ । रमेश गिरी । भक्तपुरमा प्रभावकारी रुपमा संचालन भएको हनुमन्ते सफाई अभियानको आज १०० हप्ता पुरा भएको अवसरमा विशेष कार्यक्रम मनाईएको छ । हनुमन्ते सफाई अभियानले आज मध्यपुरथिमिको राधे राधे स्थित ईजी ट्रायल सेन्टरमा आयोजना गरेको कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।

मन्त्री बस्नेतले अरनिको राजमार्गमा सुरु भएको सोलार बत्ति जडान, हरियाली प्रर्बद्धनको समेत उद्घाटन गर्नुभयो । मन्त्री बस्नेतले मुलुकको सम्बृद्धि अब धेरै टाढा नभएको बताउँदै वर्तमान सरकारले मुलुक सम्बृद्धि बनाउने अभिभारा पुरा गर्ने बताउनुभयो । उहाँले हनुमन्ते सफाई अभियान जस्तै विकासका हरेक अभियानमा सरकारको सधै सहयोग र साथ रहने बताउदै मन्त्री बस्नेतले विकासका गतिलाई सरकारले अझै तिब्र्र्ररुपमा लैजाने बताउनुभयो ।

उहाँले संघीयताको अभ्यास भईरहेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पुरा गर्न लाग्नु पर्ने औल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसंगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले देश मै नमूना बनेको हनुमन्ते सफाई अभियानलाई अब नयाँ मोडरलमा अगाडि बढाई चारवटै नगरपालिकाले संचालन गर्ने गरि अगाडि बढाईने बताउनुभयो ।

हनुमन्ते सफाई अभियानका अगुवाईकर्ता समेत रहनु भएका सांसद बस्नेतले अब हनुमन्ते होस वा सडक जहाँ काही फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशसन र प्रहरीले कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिदै फोहोर गर्नुपनि सामाजिक अपराध भएकाले सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजायँ दिनुपर्ने बताउनुभयो ।

उहाँले हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको चर्चा गर्नुभयो । उहाँले हनुमन्ते करिडोर अबको दुईवर्षमा सम्पन्न गर्ने बताउदै करिडोरको बिरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ टिने चेतावनी दिनुभयो ।

सांसद बस्नेतले विकास बिरोधीको हिसाब, किताब राख्ने बताउँदै हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुरको विकास देश कै पूर्वी नेपालसंग जोडिएको चर्चा गर्दै उहाँले भक्तपुरमा आएको विकास रोक्न खोज्नेलाई जनता आफैले लखेट्छन् भन्दै जनप्रतिनिधी समेत विकास रोक्न लागेकोले तिनलाई जनताले हिसाब राख्ने बताउनुभयो ।

सरकारले हनमन्ते करिडोर निर्माणको लागि यसवर्ष १ अर्ब ९९ करोड रुपैया र हनुमन्तेको फोहोर पानी प्रशोधन गर्न ट्रिटमेण्न प्लान्ट निर्माणका लागि १ अर्ब रुपैया बजेट बिनियोजन गरेको बताउदै उहाँले अबको दुईवर्षमा हनुमन्तेमा सफा पानीमा माछा खेलेको देख्न पाईने बताउनुभयो ।

कार्यक्रममा वागमति प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, पहलमान श्रेष्ठ लगायतका अभियन्ताहरुले हनुमन्ते सफाई अभियानसंगै मनको सफाई पनि गर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा हनुमन्ते सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँ स्वरुपमा सफाई अभियान सुरु हुने बताउदै अभियान निरन्तर जारी रहने भनाई राख्नुभयो । अभियानमा ९५ हजार जना भन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहोर संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवं अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहोर गर्नेलाई नगरपालिकाले जरिवाना सहित कारबाही गरिने बताउनुभयो । कार्यक्रममा अभियानमा निरन्तर सहभागि रहने अभियन्ताहरु, संघसंस्थाहरु र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नाराका साथ सरकारको लगानी बिना नै २०७४ फागुन १९ गते शनिवार तत्कालिन जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाई अभियानका अगुवाई गर्ने सांसद बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हनुमन्ते सफाई अभियानले आज १०० हप्ता पुरा गरेको छ ।

हनुमन्ते सफाई अभियानलाई जोडेर अरनिको राजमार्ग सफाई अभियान, हरियाली प्रबद्र्धन गर्दै राजमार्गमा हरियाली अभियान, मठमन्दिर एवं सम्पदा सफाई अभियान, बृक्षारोपण, सडकमा सोलार बत्ती जडान अभियान, दुर्घटना न्यूनिकरण अभियान, सडकमा सिसि क्यामरा जडान, सडक र गाडीमा स्मार्ट डस्टबिन प्रयोग जस्ता धेरै उपलब्धीहरु यही अभियानबाट भएको छ ।

सांसद बस्नेतको जन्मदिन मनाईयो 

हनुमन्ते सफाई अभियानको १०० हप्ताको आजको कार्यक्रममा प्रतिनिधी सभाका सांसद, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको ४६ औ जन्मोत्सव मनाईएको छ । बस्नेतको पत्नी सहित कार्यक्रमका प्रमुख अतिथि मन्त्री शक्ति बस्नेत, अतिथिहरु, अभियन्ताहरु, संचारकर्मीहरु सहितको भव्य सहभागितामा केक काटेर जन्मोत्सव मनाईएको हो ।

जन्मोत्सवमा उहाँलाई वन मन्त्री बस्नेत उहाँको जीवनका आगामी दिनहरु भक्तपुर र देशको विकास र समृद्धिमा खर्चन शुभकामना दिनुभयो । सांसद बस्नेतले आफू निरन्तर देश र जनताको पक्ष तथा विकासमा खटिरहने प्रतिबद्धता जनाउनुभयो ।