समाचार

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ



काठमाडौँ, १२ माघ । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

आजमहानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेको जानकारी दिएका छन् ।

माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट डाँका गरेको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।