राजनीति

नेकपाले तीन महिने विशेष अभियान चलाउने



काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीन महिने विशेष अभियान चलाउने भएको छ ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा पार्टी एकता, सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानअन्र्तगत समस्त पार्टी पंक्तिको एकीकृत परिचालनका लागि तीन महिने योजना प्रस्ताव गरिएको छ ।

नेकपाका अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेअनुसार, ‘पार्टी एकताको तत्कालीक एवं दीर्घकालीन महत्व जनतामा स्थापित गर्न, राजनीतिक स्थायित्व एवं सामाजिक–आर्थिक रुपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न र सुदृढ संगठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरुबारे जनतामाझ सन्देश सम्प्रेशण गर्न र पार्टी पंक्तिमा नयाँ गतिशिलता सिर्जना गर्न विशेष अभियान सञ्चालन गर्न लगिएको हो ।’

अभियान अन्र्तगत २०७६ फागुन १ देखि १५ सम्म प्रदेश जिल्ला र स्थानीय कमिटीहरुले बैठक बसी अभियानको कार्ययोजना बनाउनुपर्नेछ ।त्यस्तै फागुनमसान्तसम्म पार्टी तथा जनवर्गीय सङ्गठनहरु केन्द्र, जिल्ला, र पालिका तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ  ।