राजनीति

देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न आवश्यक : मुख्यमन्त्री पौडेल



हेटौँडा, १७ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न आवश्यक रहेको बताएका छन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यकपर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नेगरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उनको जोड थियो ।

उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताए ।