Banner News

बालुवाटार प्रकरणमा सीआईबीको प्रतिवेदन : यी ४० जनाभन्दा बढीलाई गर्यो कारवाही सिफारिस



काठमाडौँ, १८ माघ । बालुवाटारको ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको कार्यदेश बमोजिम अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको हो ।

ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसक्नुभएको छ । ब्युरोका एसपी बेलबहादुर पाण्डेले भन्नुभयो, ‘निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोही लगायत दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेका छौं ।’

स्रोतका अनुसार सीआईबीले कारबाही सिफारिस गरेका अन्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारी र सुधीर शाह छन् । मुख्य योजनाकार भनिएका डा। शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मोर्कटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनिएको छ ।