काठमाडौँ, २२ माघ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को हाल विश्वका विभिन्न देशहरुमा व्यापक मात्रामा प्रचार प्रसार भइरहेका छन् ।
नेपाल थाइल्याण्ड राजदुतावासद्वारा थाइल्याण्डको केन्द्रीय राजधानी बैंककको मुख्य चोकमा नेपाल भ्रमण वर्षको भिडियोको माध्यमबाट प्रचार गरिएको छ । भिडियोमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको परिचय गराइएको छ भने नेपालका कला, संस्कृति, परम्परा, मठमन्दिरहरुको बारेमा समेत प्रष्ट पारिएको छ । जसले गर्दा पर्यटकहरु नेपाल भ्रमणमा आएपश्चात नेपालमा रहेका उक्त विभिन्न पर्यटकीयस्थल तथा अन्य कलात्मक संस्कृतिहरुमा रमाई आफ्नो बसाईलाई केही दिनभए पनि लम्व्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
सरकारले २०२० मा कम्तिमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । पर्यटन क्षेत्रले मुलुकको आर्थिक समृद्धिको मुख्य आधारको रुपमा हेरिएकाले नेपाललाई अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रुपमा रुपान्तरण गर्न यसको महत्वपूर्ण भूमिका रहने छ ।









