Banner News

एमसीसी कार्यदलको प्रतिवेदन कुर्दै नेकपा सचिवालय



काठमाडौँ, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर सकस बढेको छ । नेताहरूको फरक–फरक धारणा आइरहँदा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा अझै निर्णय लिन सकेको छैन ।

केन्द्रीय समितिमा बहुमत सदस्यले एमसीसी पारित गर्न केही बुँदा संशोधन गर्नुपर्ने माग गरेपछि पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरे पनि त्यसले अझै गति लिएको छैन । यद्यपि कार्यदलको बैठक दुईपटक बसिसकेको छ । कार्यदलका संयोजक खनालले एमसीसीबारे नेताहरूले उठाएको संशोधन गर्नुपर्ने बुँदामा अध्ययन भइरहेको बताउनुभयो ।

गत १९ गते सम्पन्न केन्द्रीय समिति बैठकले खनाल कार्यदललाई १० दिने म्याद दिएकाले बाँकी चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बाध्यता छ । नेकपाका नेताहरूले एमसीसी अस्वीकार गर्ने भनेका भने छैनन् । तर स्थायी समिति सदस्य एवं कार्यदलका सदस्य भीम रावलले भने संशोधन गर्नुपर्ने १० बुँदे फरक मत केन्द्रीय समितिमा बुझाइसक्नुभएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।