खरिपाटीमा संचारकर्मीलाई प्रवेश निषेध
भक्तपुर, २८ माघ । चीनबाट उद्दार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाईन निर्माणको काम भईरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई प्रवेश निषेध गरेको छ ।
चीनमा कोरोना भाइरसका कारण महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काएर खटिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार संकलनका लागि खरिपाटी पुगेका संचारकर्मीलाई आजदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाएको हो ।
समाचार संकलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका संचारकर्मीहरुलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र संचारकर्मीलाई प्रवेश नदिनु भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि संचारकर्मीले आन्तरिक तयारीको तस्विर र भिडियो संकलन नगरी फर्किएका छन् ।
सरकारले खटिपाटीको विकल्प नदेखेर बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलहरुले त्यसको बिरोध गर्दै बिकल्प खोज्न माग गर्दै आएका छन् ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपालीहरु राख्ने ठाउँहरुमा धमाधम काम भईरहेको र पत्रकारहरु आउँदा डिस्टर्ब हुने भएकाले रोक लगाएको बताउनुभयो ।
उहाँले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले संचारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाएको बताउदै तयारी तिब्र गतिमा भईरहेको जानकारी दिनुभयो ।
चीनबाट ल्याउन लागेका नेपालीहरुको लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई संचारकर्मीहरुले ल्याउन खोज्दा रोक लगाईएको भन्दै संचारकर्मीहरुले आक्रोस पोखेका छन् ।
यसबारेमा सोध्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भईरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताउनुभयो ।
क्वारेन्टाईन स्थापना गर्नका लागि भने भौतिक संरचनाको व्यबस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताईएको छ । चीनबाट फर्काइएका मध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरि व्यबस्थापन गरिएको बताईएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रसँग सरकारले नगरपाकिलकालाई कुनै जानकारी नगराएको बताउदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकासँग आग्रह गरेको बताउनुभयो । उहाँले समाचार संकलन गर्न आउने संचारकर्मीलाई रोक्नु पनि गलत भएको बताउनुभयो ।
बाग्मती प्रदेश सदस्य कृष्णलाल भंडेलले सरकारले बस्तीको बिचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउदै यसबारे सरकारले गम्भिर नभए यसबारे उत्पन्न हुने अबस्थाको जिम्मेवार पनि सरकार हुने बताउनुभयो ।
थप दुई भवन खाली गराईयो
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको थप दुईवटा भवन खाली गराएको छ ।
तीनदिन अघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकोमा त्यो अपुग रहेको भन्दै आज क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टर समेत खाली गराएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।
होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनीक भवनमा सारिएपनि आज वेड समेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको बेड, पर्दा, फर्निचर लगायतको सामानहरु लगेको उहाँले जानकारी दिनुभयो । चीनबाट फर्काइएका मध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका ६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी गरिरहेको बताईएको छ ।
पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै आज स्थानीयबासिन्दाले बिरोध गरेका छन् । वडा नं. ६ का वडा अध्यक्ष सन्ते वाईवा सहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिषर भक्तपुरमा ज्ञापन पत्र बुझाउदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्