राजनीति

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमकाे भेट, सम्बन्ध कसिलो बनाउने प्रयास



काठमाडौँ, २८ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् ।

गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन् । आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए ।

सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए । प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नम्बर प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिएका थिए । उनले पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभाग प्रमुख पनि भएको हैसियतले पार्टीभित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको बताएको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिरामी भएकाले सार्वजनिक कार्यक्रम सबै रद्द गरिएका थिए अपराह्न भने राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो’, बालुवाटार निकट स्रोतले भन्यो, ‘बेलुकी उपाध्यक्ष गौतमसँग बस्नुभयो र पार्टीका विविध विषयमा कुराकानी भयो ।’

शनिबार नियमित डायलाइसिस गरेका ओली आइतबार दिनभर टाउको दुख्यो भनी निवासमै बसेका थिए । केही दिनको दौडधुपले थकाएपछि प्रधानमन्त्रीले आइतबारका लागि तय भएका सबै कार्यक्रम स्थगित गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।