समाचार

दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु



काठमाडौँ, १ फागुन । आजदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ ।

दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ । दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने जनाइएको छ  । बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ का सबै वडामा रहेका खोप केन्द्रमा गएर ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।

दोस्रो चरणमा आउँदो चैत १ गतेदेखि एक महिनासम्म वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।