मोरङ, ३ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्व–पश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरु भएको जानकारी गराउनुभएको छ ।
उद्योग सङ्गठन मोरङद्वारा फागुन २ गतेदेखि १० गतेसम्म आयोजित‘विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी)मा उहाँले सरकारले स्रोतको सुनिश्चिताको आधारमा मुलुकको विभिन्न क्षेत्रमा आठ र छ लेन सडक निर्माणको प्रक्रियाको ठेक्का लगाइसकेको जानकारी दिँदै अब चार लेनभन्दा कमको सडक नबनाउने सरकारको नीति जानकारी गराउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले सरकारले लिएको उदार आर्थिक नीति र विश्वासिलो वातावरणका कारण मुलुकमा विदेशी लगानी भित्रिने क्रम वृद्धि भई जनताको समृद्धिको चाहना पूरा उल्लेख गर्दै चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३० खर्बबराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको जानकारी गराउनुभयो ।
मन्त्री खतिवडाले प्रदेश नं १ को अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी दिँदै त्यसबाट यस क्षेत्रका उद्योग प्रतिष्ठानले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खतिवडाले यस क्षेत्रमा निर्माण गरिने विशेष औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सडक, पानी, सुरक्षालगायत कार्यमा सरकार प्रतिबद्ध रहेको धारणा राख्दै उद्योगीले नयाँ बजार, अन्तरराष्ट्रिय क्षेत्रको मागलाई ध्यानमा राखी नयाँ उत्पादनमा उद्योगीलाई जान सरकारलाई सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्