काठमाडौँ, ६ फागुन । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ ।
समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसहितका यी चार संयुक्त अध्ययन समिति बनाइएको हो । सिलगुढी–झापा पाइपलाइनको प्रारम्भिक रेखाङ्कन पनि थालिएको छ ।
नेपाल र भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहले संयुक्त अध्ययन टोली बनाउने निर्णयअनुसार यी समिति बनाइएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार संयुक्त कार्यसमूहले पाँचवटा सवालमा काम अघि बढाउने छ । सिलगढी–झापा पेट्रोलियम पाइपलाइनको विस्तृत आयोजना प्रतिवेदन संयुक्त अध्ययन टोली गठन भएको चार महिनामा सकिने गरी काम सुरु हुने घिमिरेको भनाइ छ । सो पाइपलाइनको दूरी ३७ किमी रहने छ । झापामा आयल ‘टर्मिनल’ भण्डारण तथा पूर्वाधार निर्माणको विस्तृत प्रतिवेदन तयार गरने छ । मोतिहारीदेखि अमलेखगञ्जसम्म आएको पाइपलाइन विस्तार गरी चितवनको लोथरसम्म ल्याउन विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्नेछ । संयुक्त अध्ययन समितिले दुई महिनामा सो काम सम्पन्न गर्ने छ । लोथरमा भण्डारणलगायतका भौतिक पूर्वाधारको पनि प्रतिवेदन गरिने छ ।
गत भदौदेखि सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको पूर्वाधार निर्माण र भण्डारण क्षमता निर्माणको काम पनि अघि बढाइने भएको छ । सो आयोजनाको दोस्रो चरणको काम बाँकी रहेकाले विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गरिने सहसचिव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त अध्ययन समूहले काम थालेको एक महिनामा प्रतिवेदन तयार गरेर काम अघि बढाउँछौँ ।”
संयुक्त कार्यसमूहले नेपालमा रहेका डिपो तथा भण्डारणहरूको अध्ययन पनि गर्ने भएको छ । भविष्यका लागि आवश्यक पर्ने भण्डारण क्षमताको पहिचान र डिपोको अध्ययन गरी समग्रमा नेपालभर पाइपलाइनको नक्साङ्कन गर्ने योजना अघि सारिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्