राजनीति

समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता : उपराष्ट्रपति पुन



काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै जनताको सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर भएको बताउनुभएको छ । सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा जीवनको आहुति दिने वीर वीरङ्गानालाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो । प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उहाँको विश्वास छ ।