भक्तपुर, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई विकसित र समृद्ध बनाउन कालो वादलको रुपमा रहेको भ्रष्टाचारीलाई अन्त्य गर्न सरकारले आफ्नो वा विरानो नभनी आँखा चिम्लीएर कारवाही गर्ने बताउनुभएको छ ।
शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु ठूला ठूला राजनीतिक आन्दोलन सफल बनाउन जनताको मन जित्ने तर सत्तामा गईसकेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको बताउँदै यस्तो संकेत विश्व राजनीतिक इतिहाससँगै नेपालमा पनि देखिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन् । सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’
गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्ने, शुद्धिकरण गर्न संकल्प गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्