राजनीति

गच्छदार समूहका ११ जनालाई देउवाले बनाए केन्द्रीय सदस्य



काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ११ केन्द्रीय सदस्यहरुमा  कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाकै मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकै कल्पना चौधरी र मोरङका पवनकुमार सारडा केन्द्रीय सदस्य भएका हुन् ।

गत वर्ष कात्तिक २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक निर्णयका आधारमा गच्छदारलाई उपसभापति मनोनित गरेको थियो ।

उक्त निर्णय विधानविपरीत भन्दै त्यसबेला विरोधसमेत भएको थियो। २०७४ सालको चुनावअघि गच्छदारले पार्टी कांग्रेसमा मिलाएका थिए ।