काठमाडौँ, २५ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पार्दै अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडा भन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले कसैले कालोबजारी गरेको पाइए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उहाँले दिनुभयो । अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पार्दै उहाँले वाणिज्य विभाग र औषधि विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरी मौज्दात राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्क गर्दै उहाँले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको समेत स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने औषधि रहेको समेत प्रष्ट पार्नुभयो । सरकार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा नहोस भनेर गम्भीर भएको पनि स्पष्ट पार्दै सरकार गम्भीर भएन भनेर लगाउने गरेको आरोपमाथि कुनै सत्यता नभएको दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्