काठमाडौँ, १० चैत । दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोकथामका लागि ९ वटै वडा कार्यालयमा र हात धुनका लागि साबुन बाल्टिनीको व्यवस्था गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि नगरपालिकाले वडा, वस्ती, टोलमा माइकिङ गरी सर्वसाधारणमा जनचेतना जागृत गर्ने जनाएको छ ।
आइतवार नगरप्रमुख मोहन बस्नेतको अध्यक्षतामा बैठक बसी सो कार्य गर्नका लागि नगर उपप्रमुख बसन्ती तामाङ डङगोलको संयोकत्वमा नौ सदस्यीय अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालको राजत्रप भाग ५ मा उल्लेखित नगरपालिकाबाट प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकको अन्य सेवा चैत २१ गतेसम्म बन्द गर्ने र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरक्षेत्रभित्र कोरोना भाइरसका बिरामी देखा परे एम्बुलेन्स, रेडक्रस फपिङ उपशाखा र मनमोहन स्मृति सामुदायिक अस्पतालाई तयारी अवस्थामा बस्नका लागि अनुरोध गरिएको छ ।
त्यस्तै नगपालिकाभित्र भएको प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिर, चर्च, गुम्बा लगायतका धार्मिक स्थलमा भीडभाड नगर्न आग्रह गरिएको नगर प्रमुख मोहन बस्नेतले बताउनुभयो ।
नगरपालिकाभित्र भएका विभिन्न सामाजिक संघ संस्था, आमा समूह, बाल क्लबमा २५ जना भन्दा बढि भेला नहुन सबैमा आग्रह गरिएको छ । नगरक्षेत्रमा भएका धार्मिक, गुठी,जात्रा, पर्वहरुमा अत्यावश्यक पूजा बाहेक अन्य भीडभाड नगर्न आग्रह गरिएको छ ।
नगरक्षेत्रमा भएका सार्वजनिक संघ, संस्था, बैंकलाई सरसफाइ सम्बन्धी सामाग्री स्वेच्छिक रुपमा राख्न आग्रह गरिएको हो । महिला स्वास्थ्य स्वयमेवीलाई अधिकत्तम रुपमा सेवा प्रवाह गर्न आग्रह गरिएको र नगर क्षेत्रमा भएका खुल्ला स्थानमा सञ्चालन गरिएका व्यवसाय बन्द गर्न आग्रह गरिएको छ । होटल रेष्टुरेन्ट लगायतका अन्य सार्वजनिक स्थानमा भीडभाड गरेर नबस्न सबैमा नगरपालिकाले आग्रह गरेको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्