समाचार

प्रेमीसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या



जनकपुर, १३ चैत । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित एक पुरुष पक्राउ परेका छन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् । शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका  राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीको आरोप लगाएको छ ।

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ । प्रहरीले राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ । राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।