वीरगञ्ज, १४ चैत । वीरगञ्ज छपकैयाबाट लकडाउनको मौका छोपी कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार बेलुका कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् ।
कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले ७० किलो आलु र २५ किलो प्याजसहित पटेललाई नियन्त्रणमा लिएको थियो । बजार मूल्य भन्दा दोब्बर, तेब्बर मूल्यमा आलु र प्याज प्रति किलो १ सय रुपैयाँको दरले कालोबजारी गरी बेची रहेको अवस्थामा पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको ।
यस्तै लकडाउनको अवज्ञा गरी रामटोलस्थित सडक छेउमा माछा बिक्री गरिरहेको अवस्थामा प्रहरीले वीरगञ्ज-७ रामटोलका २९ वर्षीय पप्पु साह तुरहालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले १५ किलो माछासहित तुराहालाई नियन्त्रणमा लिएको थियो ।
लकडाउनको अवज्ञा गरी सडक छेउमा माछा बिक्री गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्