विश्व

कतारमा कोरोना संक्रमितको संख्या ८३५ पुग्यो



कतार, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कतारमा बिहीबारसम्म संक्रमितको संख्या ८ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४ हजार ८ सय २५ जनाको जाँच भएको छ । हालसम्म कोरोनाले दुई जनाको मृत्युु भइसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । यो दुई हप्ताका लागि लागु हुनेछ ।

प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो । अब रोजगारदाताले २० प्रतिशत कामदारलाई मात्रै कार्यालयमा काममा लगाउन पाउनेछन् । तर, खाद्यान्न, औषधि र घरघरमा खाना पु‍र्‍याउने रेष्टुरेन्टको लागि भने यो नियम लागू हुने छैन ।

कतारले झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने सनैयाको लकडाउनको समयावधि बढाएको छ । सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई सिल गर्दै लकडाउन गरेको थियो । मन्त्रीस्तरीय बैठ्कपछि आयोजित पत्रकार सम्मेलनमा उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधि बढाइएको बताइन् ।

सार्वजनिक स्थानमा जमघट गर्ने १० जना पक्राउ गरिएको कतारको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ । कतार सरकारले कर्नेश एरिया, समुन्द्री किनारहरु, सार्वजनिक स्थलहरु र रेष्टुरेन्ट तथा क्याफेटेरियाहरुको अगाडि सबै प्रकारका जमघटहरुमा निषेध गरेको अहिलेको स्थितिमा नियम उल्लंघन गर्ने १० व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले ट्वीटरमा लेखेको छ ।