काठमाडौँ, २३ चैत । नेपालमा कोरोना संक्रमणका कारण कुन स्तरमा आर्थिक क्षति हुन्छ भन्ने आँकलन अझै हुन सकेन । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत दिन बैंक कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भने पनि सरकारले क्षतिको आँकलन गर्न नसक्दा उक्त व्यवस्था कार्यान्वयमा आउन सकेको छैन ।
‘अर्थ मन्त्रालयमा राजस्व सचिवज्यूको संयोजकत्वको समितिले सबै अध्ययन गर्ने भएको छ’, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘एकद्वार प्रणालीबाटै सम्बोधन हुन्छ ।’ यसअघि भट्टकै नेतृत्वको राष्ट्र बैंककै अनुसन्धान विभागले अध्ययन गरेर उक्त सुविधा कार्यान्वयन गर्ने भनिएको थियो । तर, सरकारले समष्टिगत आर्थिक अवस्थाको अध्ययन गर्ने भनेपछि व्यवसायीले राहत पाउने समय भने लम्बिने भएको छ ।
हालसम्म नेपालमा उक्त संक्रमण फैलिसकेको छैन । तर, आगामी दिनमा परिस्थिति फेरिए सरकारलाई अध्ययनकै लागि थप समय आवश्यक पर्नसक्ने अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् । उक्त अध्ययनमा मुलुकको समग्र आर्थिक सूचकमा कोरोनाले कस्तो प्रभाव पार्छ भनेर हेरिँदै छ ।
यद्यपि, कोरोना संक्रमण कति समय लम्बिन्छ भन्ने पुर्वानुमान नहुँदै पश्चिमा अनुसन्धान संस्थाले सन् २०२० मा विश्व अर्थतन्त्र १ प्रतिशतभन्दा ज्यादा बढ्न नसक्ने प्रक्षेपण गरेका छन् । इकोनोमिस्ट इन्टिलिजेन्स युनिट नामक बेलायती संस्थाले गत बुधबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको थियो । यो विश्व आर्थिक मन्दीपछिकै सबैभन्दा कम हो । भाइरस संक्रमण सुरु हुनुअघि विश्व अर्थतन्त्र २.३ देखि २.४ प्रतिशत बढ्ने अनुमान गरिँदै आएको थियो ।
कोरोनाले संसारभरको आर्थिक गतिविधि ध्वस्त पारेको छ । अमेरिकी पत्रिका पोलिटिकोले उक्त भाइरसका कारण संसारै बदलिने उल्लेख गरेको छ । यसले पछिल्ला वर्षमा ‘विश्व ग्राम’ भन्न थालिएको संसारको सघन सामिप्यतालाई खतम पार्नसक्ने उल्लेख गरेको छ । यो संक्रमणले संसारभरका मानिसको जीवनशैली, जनस्वास्थ्य प्रणाली, अर्थतन्त्र मात्र होइन, जनता र सरकारबीचको सम्बन्ध पनि पुनः परिभाषित गर्नसक्ने उक्त पत्रिकाले लेखेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
प्रतिक्रिया दिनुहोस्