राजनीति

मानविय आस्था नेपालद्वारा ३५४ परिवारलाई राहत वितरण



भक्तपुर, २४  चैत । मानविय आस्था नेपालले तीन सय ५४ विपन्न घर परिवारलाई आज राहत वितरण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्व तथा श्रीकुमार रञ्जितको अध्यक्षतामा संचालनमा रहेको उक्त संस्थाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिक जीविको पार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

मानविय आस्था नेपालको आयोजना तथा मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा भएको उक्त राहत वितरण कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. १ का २०४, ४ का ५०, ६ का ५० तथा ७ का ५० जना गरि जम्मा तीन सय ५४ घर परिवारलाई राहत वितरण गरिएको हो ।

भिडभाडका कारण कोरोना भाइरस सर्ने अत्याधीक सम्भावना रहेका कारण सरकारले भिडभाडलाई नियन्त्रण गर्न लकडाउनको घोषणा गरेसँगै सरकारको घोषणालाई विशेष ध्यानमा राखी भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ, तरकारीलगायत रहेका छन् ।

त्यस्तै सूर्यविनाक नगरपालिका वडा नं. ८ डोलेश्वरको आफ्नो घर आश्रम नेपाललाई ४६ पाकेट र सू.न.पा ४ का १४ घर परिवारलाई समेत राहत वितरण गरेको छ । बाँकी वडा तथा अन्य नगरपालिकामा स्थानीय निकाय सँगैको सहकार्यमा आवश्यकता अनुसार राहत वितरण गर्दै जाने बताइएको छ ।

राहतको लागि समाजसेवी तथा सूर्यविनायक ईटा व्यवसायी विष्णु सुन्दर प्रजापति १०० परिवार, नेपाल उद्योग परिसंघले २०० परिवार तथा वाग्मती टिप व्यवसायी संघले दुई टन चामल मानविय आस्था नेपाललाई सहयोग गरेका थिए ।

त्यस्तै व्यवसायी  प्रजापतिद्वारा १६ वटा पीपीइमा ४ वटा भक्तपुर अस्पताल, ४ मानव अंग प्रत्यरोपण केन्द्र, ४ वटा भक्तपुर क्यान्सर अस्पताल, ४ वटा कुइक रेस्पोन्स टीमलाई हस्तान्तरण गरिएको छ ।