राजनीति

चैतको विकास खर्च ८ अर्ब ७४ करोड मात्रै



काठमाडौँ, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को असर विकास खर्चमा प्रत्यक्ष देखिएको छ । चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ ।

सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा पौने नौ अर्ब रुपैयाँ विकास खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कूल विकास खर्च एक खर्ब पाँच अर्ब २२ करोड ४५ हजार भएको छ । यो चालु आवमा विनियोजित विकास खर्चको २५.७९ प्रतिशत मात्र हो । फागुनमा विकास खर्च ९६ अर्ब ४८ करोड रुपैयाँ थियो । चैतमा मात्र आठ अर्ब ७४ करोड रुपैयाँ विकास खर्च भएको तथयांकले देखाएको छ ।

सरकारले चालु आवमा कूल चार खर्ब आठ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षाले यसलाई तीन खर्ब २६ अर्ब ८१ अर्बमा झारेको थियो ।

शीर्षक फागुन मसान्त चैत मसान्त वृद्धि
पूँजिगत खर्च ९६ अर्ब ४८ करोड  १२ लाख (२३.६५ प्रतिशत) १ खर्ब ५ अर्ब २२ करोड ४५ लाख  (२५.७९) ८ अर्ब ७४ करोड ३३ लाख
चालु खर्च ४ खर्ब ५० अर्ब ७८ करोड ८६ लाख (४७.१० प्रतिशत) ४ खर्ब ९५ अर्ब ३९ करोड ५४ लाख (५१.७६ प्रतिशत) ४४ अर्ब ६० करोड ६८ लाख
वित्तीय व्यवस्था ६२ अर्ब ९७ करोड (३७.५२) ७४ अर्ब २३ करोड ६५ लाख (४४.२३) ११ अर्ब २५ करोड ९२ लाख