समाचार

र्‍यापिड टेस्टमा थप एक जनामा देखियो एन्टिबडी पोजेटिभ



विराटनगर, ४ बैशाख । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीका अनुसार २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी विराटनगरस्थित प्रयोगशालामा पठाइएको छ । ती युवक र उनको परिवारका चार सदस्यको पनि स्वाब विराटनगरको कोशी अस्पतालमा रहेको प्रयोगशालामा ल्याइएको छ । उनी दुबईबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हल्दिबारीमा ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जनाएको छ । त्यस क्रममा १९ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि विराटनगर ल्याइएको छ ।