राजनीति

सांसद बस्नेतद्वारा पत्रकारलाई अत्यावश्यक सामाग्री वितरण



भक्तपुर, १०  वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले भक्तपुरका पत्रकारलाई प्रेस ज्याकेट तथा बिभिन्न स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।

मानवीय आस्था नेपालले मंगलबार सूर्यविनायकको यो यो पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा उहाँले ६१ जना पत्रकारलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सर्जिकल मास्क र सेनेटाइजर वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले २०७२ सालको महाभूकम्पमा समस्यामा परेका भूकम्प पीडितलाई सहयोग गर्न स्थापना भएको मानवीय आस्था नेपालले अहिले कोरोना भाइरसले निम्त्याएको संकटको बेलामा पनि निरन्तर मानवीय सेवामा जुटिरहेको बताउनुभयो । आम भक्तपुरका जनताको समस्या आफ्नै समस्या भएको उल्लेख गर्दै उहाँले भक्तपुरका जनताको जहाँ समस्या उत्पन्न भएको छ, त्यही आफुलगायतको सम्बन्धीत निकायको टिमले जुनसुकै समय समस्या समाधान विगतमा पनि गरेको र आगामी दिनमा पनि निरन्तर रुपमा समाधान गरि अघि बढ्ने जनाउनुभएको छ ।

आफै संरक्षक रहेको उक्त संस्थाले अहिले पनि अभावमा रहेका एक हजार भन्दा बढी परिवारलाई राहत सामाग्री, अस्पताल तथा स्वास्थ्य संस्था, पिपिई मास्क, सेनेटाइएजर लगायतकास्वास्थ्य सामाग्री, नेपाल प्रहरीलाई बिभिन्न स्वास्थ्य सामाग्री सहित पानीको ट्यांकी वितरण गरेको बताउनुभयो ।

त्यसैगरी भोकै र अलपत्र परेको नागरिकका लागि भक्तपुरको गठ्ठाघर र जगातीमा खाना, बस्नेको व्यबस्था गरेको, घर जानेहरुलाई सवारी साधनको व्यबस्था गर्दै उद्दार गरी पठाएको बताउदै नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले कोही राहतको आवश्यकता भएका र भोकै परेका छन् भने तत्काल सम्पर्क गर्न आव्हान गर्नुभएको छ ।

उहाँले भन्नुभयो–“यहाँ कोही भोकै बस्नु पर्दैन, कोही अलपत्र पनि पर्दैन, राहत नपाएर समस्यामा परेको निम्न वर्गका कोही हुनुहुन्छ भने, बाटोमा कोही भोकै हुनुहुन्छ भने खबर गर्नुस्, हामी राहत वितरणदेखि खाना समेत खुवाउँछौ ।”

सूर्यविनायक नगरपालिकाको प्रत्येक वडा कार्यालयमा, चाँगुनारायण नगरपालिका, मध्यपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिका भित्र आवश्यक परेको ५० ठाउँमा हात धुनका लागि पानी राख्ने ५०० लिटरको ट्यांकी राख्न सुरु गरेको बताउदै उहाँले समस्या परेको हरेक ठाउँमा मानवीय आस्था नेपाल सहयोग गर्न अगाडि पुग्ने उहाँले बताउनुभयो ।

लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर समाचार संकलन तथा फोटो खिच्नु पर्ने भएकाले धेरै पत्रकार जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउदै उहाँले पत्रकारलाई अत्यावश्यक सुरक्षाका सामाग्री आवश्यक ठानेर वितरण गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलको जटिल परिस्थितिमा पनि पत्रकारहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेरै कार्य क्षेत्रमा नियमित खटिएको बताउदै उहाँले संचारकर्मीका लागि सरकारले स्वास्थ्य बिमा सहित राहतको प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिको सहयोगमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रंजितले कोरोना भाइरस संक्रमण रोक्न समस्याको समाधान गर्न निरन्चर खटिने बताउनुभयो ।

अलपत्र परेका बाह्रसयलाई खाना खुवाएर घर पठाईयो,

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाको नेतृत्व एवं मानवीय आस्था नेपाल सहितको सहयोगमा भक्तपुरको गठ्ठाघरमा आज ८०० जनालाई खाना खुवाएको छ । सडकमा अलपत्र परेका, घर फर्कन लागेका र अस्पतालका विरामी कुरुवालाई आज खाना खुवाएको कासिछ्वाले जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका ८ जगातीमा आज सडकमा अलपत्र परेका र बिभिन्न जिल्ला हुदै घर फर्कनेहरु करिब १६९५ जनालाई खाना खुवाएर घर फर्काएको छ । महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले प्रहरीले थर्मन गनबाट उनीहरुको ज्वरो नाप्ने, खाना खुवाउने ठाउँको व्यबस्था र गाडी खोजेर घर फर्काउने काम दैनिक गरिहरेको जानकारी दिनु्भयो ।

आज विहान संघीय सांसद महेश बस्नेत, वागमति प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, बसुन्धरा हुमागाईको पहलमा सिन्धुली र रामेछापका ९९५ जनालाई घर फर्काएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहरा र दोलखाको मैलुङ्ग गापाका बिदुर कार्कीलगायतले आफै आएर आफुना नागरिकलाईै जगातीबाट गाडीमा हालेर लानु भएको छ ।

गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले उपलब्ध गराएको बसहरुमा हालेर दुधौली, सुनकोशी, खुर्कोट, हरिहरपुर, घ्याम्ले लगायतका ठाउँका मानिसलाई खाना खुवाएर घर पठाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।

जगातीमा सूनपा ८ सिपाडोलका वडाध्यक्ष किरण थापा, सिपाडोल क्षेत्र परोपकार समाज, मानवीय आस्था नेपालको सहयोगमा आज ७०० जनालाई दिउँसोको खाजा र साँझको खाना खुवाएर बिभिन्न गाडीमा हालेर घर फर्काएको छ । कसैलाई सडकमा अलपत्र नपार्ने र घर फर्कन चाहनेलाई त्यसको व्यबस्था गर्ने तथा यही बस्नेलाई राहतको व्यबस्था गर्ने सांसद बस्नेतले बताउनुभयो ।