समाचार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते



तनहुँ, १६ बैशाख । तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् ।

सोमबार साँझ नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखरेलको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा नवलपुर बैदिककालिका गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार छन् ।

६ महिनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ ।