Banner News

सीमा क्षेत्रमा पाँच सय बीओपी, थप नौ हजार सुरक्षाकर्मी



काठमाडौँ, २४ वैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट (बोर्डर अब्जरभेजन पोस्ट—बीओपी) राख्ने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रमा पाँच सय १६ वटा बीओपी राखी थप नौ हजार सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्ताव तयार गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सीमा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन् । गृहमन्त्री थापाको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले भारतकै बराबर बीओपी राख्ने खाका तयार पारी गृह मन्त्रालयमा समक्ष प्रस्तुत गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

हाल सीमामा एक सय २१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय १६ पुर्‍याउने सरकारी तयारी छ । प्रस्ताव अनुसार हालको संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको छ। हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको दूरीमा रहनेछ । दक्षिणी सीमानामा एक हजार आठ सय ८० किलोमिटर दूरीमा भारतको एसएसबीअन्र्तगतका ५ सय ३० बीओपी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।